RSS

ईन्जिनियरिङ्गको अड्कल र साहित्यको कल्पना

16 Mar

– नवराज खतिवडा

ईन्जिनियरिङग विषय लिई चार वर्षे स्नातक तहको अध्ययन गर्ने प्रथम वर्षका विद्यार्थीलाई आन्तरिक परीक्षामा मैले सोधेको एक प्रश्न यस्तो थियो ।

“ तिम्रो टाउको जत्रो ढुंगाको तौल अन्दाजी कति होला ?“

विद्यार्थीहरुले यो प्रश्नको उत्तर विभिन्न किसिमले दिए । टाउको जत्रो ढुँगाको तौल १-२ किलोग्रामदेखि २५-३० किलोग्रामसम्म हुन सक्ने उनीहरुको अनुमान थियो । कसैले त त्यो उत्तर कसरी आयो भनेर हिसाब समेत गरेका थिए । त्यस मध्ये एकजना उत्तरदाताले प्रस्तुत गरेको तर्कले मेरो ध्यानाकर्षण गर्‍यो । त्यो तर्कमा गहनता मात्र थिएन, त्यहाँ अडकलसँग जोडिएको रोचक अन्तरवस्तु समेत थियो । त्यही तर्कलाई केन्द्रविन्दुमा राखेर यो लेखको रचना समेत भयो ।

“टाउको र भकुण्डोको आयतन लगभग बराबर हुन्छ । अन्तर्राष्‍ट्रिय मान्यताको भकुण्डोको व्यास २० सेन्टिमीटर जति हुन्छ । सुत्र प्रयोग गर्दा यत्रो गोलो वस्तुको आयतन ५ लिटर जति निस्कन्छ । एक लिटर पानीको तौल एक किलोग्राम हुने र पानीभन्दा ढुँगा दुई गुणा जति गह्रौँ हुने भएकोले टाउको जत्रो ढुँगाको तौल १० किलोग्रामको आसपासमा हुन्छ।“

यसरी खोजमूलक र सही उत्तर लेख्ने ती विद्यार्थीलाई मैले उत्कृष्ट अंक दिँए । उत्तर पुस्तिकामा “अति राम्रो” भनेर स्यावासी समेत लेखेँ । यो रोचक उत्तरको प्रसँग एक दुई जना समकक्षी साथीहरुलाई पनि सुनाएँ । उनीहरुले पनि “सिर्जनात्मक उत्तर” भन्ने प्रतिकृया दिए । ईन्जिनियरिङ्ग विषयको मूलाधार भनेको विज्ञान नै हो । चार वर्षे स्नातक तहको अध्ययनमा पहिलो दुई वर्ष त धेरै जसो भौतिक शास्त्र, रसायन शास्त्र र गणित कै पढाइ हुन्छ । यसकारण विद्यार्थीको उत्तर यथार्थको नजिक भएता पनि त्यस तर्कमा विज्ञानकै अँश अधिक हुनु अस्वभाविक थिएन । त्यही सेमेष्टरका विद्यार्थीको एक कक्षामा केही हप्ता अघि विज्ञान र ईन्जिनियरिङ्गको फरक बुझाउनका लागि मैले एउटा रित्तो कपको प्रयोग गरेको थिँए । मैले रित्तो कप उनीहरुलाई देखाएर सोधेको थिएँ ।

“यो कप भरि छ कि खाली ? ”

आश्चर्य भयो ! उनीहरुको मत बाझियो । आधा जतिले त्यसमा हावा भएकाले “भरी” भनेका थिए । “खाली” भन्नेहरुले कपको काम तरल पदार्थ बोक्ने भएकाले हावाले भरिनुको कुनै अर्थ नभएको भन्ने जवाफ दिएका थिए । वैज्ञानिक हिसाबमा हावाले भरिनुको अर्थ भएता पनि व्यवहारिक हिसावमा थिएन । यसकारण उही तथ्यलाई विज्ञान र ईन्जिनियरिङ्ग वा अर्थशास्त्रले फरक फरक तरिकाले परिभाषित गर्न सक्छन भनेर विद्यार्थीलाई बुझाउन कपको उदाहरण सफल भएको थियो । आफ्नो अघि आईलागेको प्राविधिक समस्यालाई चिर्ने कार्यको प्रस्थान विन्दु हुन्छ- त्यस समस्याको आकार अनुमान । आकार अनुमान गर्नको लागि समस्यासँग जोडिएको भौतिक स्वरुपको मापन गर्नु पर्ने हुन्छ । उदाहरणको लागि पहाडको उचाइ, नदीको वहाव या कुनै पाईपको मोटाइ नै अन्दाज गर्ने कुरालाई लिन सकिन्छ । यसकारण एउटा ईन्जिनियरले फित्ताले ननापी वा तराजुमा नजोखी वा कुनै हिसाब नगरिकन वस्तुको आकार या तौल अनुमान गर्न सक्नुपर्छ । विद्यार्थी जीवनमा जसले यो काम निमेषभरमा नै गर्न सक्ने दक्षता हासिल गर्छ त्यसको “अन्दाज कौशलता” विशिष्ट हुन सक्छ । यही चुरोको सेरोफेरोमा मेरो मनमा एक गहन प्रश्न उब्जियो । भकुण्डोको आयतनसँग तुलना गरी पानीको घनत्वको तथ्यलाई प्रयोग गरी ढुँगोको तौल अन्दाज गर्ने तरिका वैज्ञानिक त अवश्य भयो तर के यो व्यावहारिक पनि भयो त ?  म चिन्तनको दायरालाई फराकिलो पार्न थाल्छु । विद्यार्थीहरुले समस्या समाधानका अरु तरिकाको पनि कल्पना गरेका थिए । केहीले आफ्नो शरिरको वजनको आधारमा टाउकोको तौल अनुमान गरेका थिए । केहीले ईँटा, फर्सी या तरबुजाको तौलसँग तुलना गरी ढुँगाको तौल अन्दाज गरेका थिए ।

दिइएको परिस्थितिमा वा समस्या सिर्जिएको स्थानको वरिपरि साधन र श्रोतको उपलब्धता सिमित हुनसक्छ । कतिपय अवस्थामा हातमा फित्ता वा साथमा क्यालकुलेटर समेत नहुन सक्छ । फेरि अरुले सामान्य दिमागमात्र प्रयोग गरी दिन सक्ने समाधानमा आफूले स्केल या क्यालकुलेटर खोज्दा हाँस्यपात्र पनि बन्न सकिन्छ । यस्तो बेला तन्काउन मिल्ने वा थप्दै जान सकिने वा एउटा धारको सट्टामा अर्को फेर्न सकिने भनेको चिन्तन वा कल्पना नै हो । समस्या सानै भएपनि त्यसलाई चिर्न ज्ञानको अथाह भण्डार प्रयोग गर्न सकिन्छ । विभिन्न तरिकाले सोच्न सकिन्छ । यसकारण कुनै समस्यालाई पर्गेल्नका लागि कत्रो फैलावाट भएको वा कति गहन कल्पना शक्ति खर्च गर्ने भन्ने सवाल महत्वपूर्ण हुन आउँछ ।

ईन्जिनियरिङ्ग विधामा त कल्पना शक्तिको नै विशिष्ट स्थान छ । सामान्य अन्दाज गर्ने देखि लिएर वृहत संरचना समेतको नक्शा वा नमूना कल्पनाशक्तिले नै बन्छ । जसरी वास्तविक अनुहार क्यामेराले खिचेको तस्विरमा हुबहु बनेर निस्कन्छ, त्यसरी नै कागजमा कोरिएको नक्शा निर्माण पश्चात वास्तविक संरचनामा परिणत  हुन्छ । यसकारण केको आधारमा कल्पना गर्ने ? कुन विधि अपनाउने ? उत्तर कसरी पस्कने ? अर्थात् विद्यार्थीको कल्पना वा पूर्वानुमान गर्ने क्षमता कसरी अभिवृद्धि गर्ने ? स्वभाविक प्रश्नहरु उब्जिएका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले कल्पना शीर्षकको निबन्धमा लेखेका छन् – ……उस (कल्पना) लाई वस्तुको उपस्थितिको जरुरतै छैन, स्मृतिपटमा परेको छाया जगाएर ऊ अनुपस्थित वस्तुहरुको सूक्ष्म स्वरुप सत्यप्रदर्शन गर्दछ । ………..हामी कल्पनाद्वारा आँखा चिम्ली चिम्ली वाह्य संसारका वस्तु र तिनका सम्बन्धहरु भेट्टाउन सक्छौँ  ।………..

यसरी साहित्यको कल्पना र ईन्जिनियरिङ्गको अडकलबाजीमा समानता पाइन्छ । महाकविले लेखे जस्तै आफ्नो अघि अनुपस्थित वस्तुहरुको लम्बाइ, चौडाइ, उचाइ वा गोलाइको अनुमान गर्ने सिलसिलामा सर्वप्रथम मष्तिष्कले त्यो वस्तुको छायाँको परिकल्पना गर्दछ । समस्या त्यसबेला सिर्जना हुन्छ जव मष्तिष्कले वस्तुको छायाँको कल्पना गर्न सक्दैन । किनभने त्यहाँ तिखो दृष्टि नहुन सक्छ । या कल्पना गर्नेले कुनै आधारशिला नै फेला पार्दैन । बोधो दृष्टिकोणले निशाना लाग्दैन । सही अडकल आउँदैन । त्यसकारण बोधो दृष्टिलाई तिक्ष्ण बनाउने अर्थात् आफ्नो अडकलवाजी लाई सत्यताको नजिक पुर्‍यउने कौशलता सिर्जना गर्नु विशेषगरी ईन्जिनियरिङ्ग पढ्ने विद्यार्थीका लागि अपरिहार्य हुन आँउछ ।

केही समय अघि मेरा एक मित्रको कारमा हामी धुलिखेलबाट काठमाण्डौँतिर गइरहेका थियौ । केही समय अघि देखि परेको घनघोर पानी अझै थामिएको थिएन । हामी अकस्मात रोकियौँ । हाम्रो अघि लगभग १०० मिटर जति सडकमा फैलिएको पानीको दह थियो । ठूला गाडी त पाङ्ग्रा अग्लो भएको कारणले पानी मिचेर पास भएका थिए । तर हामीले आँट गरेनौँ । मैले वायाँतिर एक लेनको सडकलाई आफ्नो बाटो बनाएर उर्ली उर्ली बगेको पानीलाई नियालेँ । लगभग घुँडा-घुँडा आउने पानी थियो । मैले सडकको चौडाइ, पानीको औसत गहिराइ र भेलको गति अन्दाज गरी जल प्रवाहको परिमाण अनुमान गरेँ । यस विषयमा मेरा मित्रको पनि विचार जान्ने ईच्छा भयो र वहाँलाई सोधेँ ।

“ यो पानीको वहाव कति होला ? “

वहाँले वडो सामान्य र सहज हिसावमा उत्तर दिनु भयो ।

“मेरो विचारमा १.५ देखि ३ घनमिटर प्रति सेकेण्डको वीचमा हुनुपर्छ ।”

म दङ्गदास परेँ । यसका दुई कारण थिए । पहिलो: मेरो अनुमान वहाँको उत्तरसँग ठ्याक्कै मिलेको थियो । दोस्रो: वहाँको सपाट उत्तरमा जुन ओज र आत्मविश्वास थियो त्यो स्मरणीय र अतुलनीय थियो । वहाँले त्यो उत्तर दिँदा कत्तिवेर पनि नअलमलिईकन दिनु भएको थियो । मैले अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने अध्येता डेनियल कानेम्यानले लेखेको “थिङ्कीङ्ग फास्ट एण्ड स्लो” भन्ने पुस्तकको प्रसँग सम्झिएँ । पुस्तकमा उनले कुनै आकस्मिक परिस्थितिमा हामी कसरी विचार गर्दछौ भन्ने कुराको विश्लेषण गरेका छन् । डेनियलले परिस्थिति र सोच्ने व्यक्तिको क्षमता अनुरुप दुईवटा सोच-प्रणालीले काम गर्ने उल्लेख गरेका छन् । प्रणाली-१ ले कुनै पनि प्रश्नको सपाट जवाफ निमेषभरमा नै दिन सक्छ । तर कठिन सवाल (जस्तै: १७ × २४) को सही जवाफ दिनका लागि प्रणाली-२ को जरुरी पर्दछ । मलाई भलपानीको वहावलाई आँकलन गर्न केही वेर लागेको थियो तर मेरा मित्रले शायद प्रणाली-१ प्रयोग गरेर सपाट उत्तर दिएका थिए । मष्तिष्कले प्रणाली-२ को प्रयोग विशेष अवस्थामा मात्र गर्दछ । यसको निचोड निस्कियो — मित्रको बगेको पानीसँग सम्बन्धित अनुभव यथेष्ट छ ।

टाउको वरावरको ढुँगाको तौल आँकलन गर्दा मष्तिष्कले आयतन मात्र मिल्ने भकुण्डो स्मरण गर्छ कि तौल र आयतन दुवै मिल्ने फर्सी या तरबुजा स्मरण गर्छ त ? यो कुरा समस्यालाई मष्तिष्कले कसरी आफूले जानेको प्रसँग या अनुभुतिसँग तुलना गर्दछ भन्ने कुरामा भर पर्दछ । अर्कोतर्फ फुटबल खेलको अनुभव अधिक भएको तर फर्सी कहिले पनि नतौलेको व्यक्ति भए उस्को ध्यान फुटबलतिर जानु  स्वभाविक नै हो । अर्थात् देवकोटाले उल्लेख गरे जस्तो प्रश्न ‘मष्तिष्कले कल्पना गर्ने छायाँको स्वरुप र आकार कस्तो हुन्छ भन्ने” हो ।  यसकारण ईन्जिनियरिङ्ग विधामा कुनै समस्यालाई सपाट र सही उत्तर दिनका लागि त्यो समस्यासँग मिल्ने पृष्ठभूमि या प्रसंग निमेषभरमा नै जोड्न सक्नु पर्छ । डेनियलको विश्लेषण अनुसार कहिलेकाहीँ मष्तिष्कले गलत वा अप्रासंगिक उत्तर पनि दिनसक्छ । यसका मुख्यतया तीन कारण हुन्छन् । पहिलो: पृष्ठभूमि या आधारभूत दायरालाई महत्व नदिई प्रश्नलाई अति हलुका तवरमा लिनु । दोस्रो: उत्तर प्राप्त गर्न अल्छि गर्नु । र तेश्रो उत्तरलाई पन्छाउनु या प्रश्न नै गलत छ भन्नेतिर मन लैजानु । विद्यार्थीहरुले उत्तर लेख्न नसक्नु वा गलत उत्तर दिनुको मूल कारक यिनै हुन् । तर सही अन्दाज या पूर्वानुमान गर्नका लागि उपलब्ध विकल्पहरुलाई कुनै नजिरसँग या आधारसँग तुलना गर्न जरुरी छ । आफ्नो अन्तस्करणमा उत्पन्न भएको अड्कललाई पाए सम्मका तथ्यहरुले प्रमाणित गर्नु पनि जरुरी हुन आउँछ ।

दक्ष ईन्जिनियर बन्नका लागि पहिलो शर्त हुन्छ- कुनै परिमाणको व्यावहारिक वा अर्थपूर्ण अन्दाज गर्न सक्नु । विद्यार्थीहरुको पूर्वानुमान गर्ने क्षमता अभिवृद्धि गर्दा सिर्जना भएका यी प्रसंगहरुले हाम्रो शिक्षा प्रणालीमा कस्ता कस्ता अनुमान गर्ने तौर तरिका सिकाउने गरिएको छ र त्यसको व्यवहारिक उपयोग कस्तो रहेको छ भन्ने विषयहरुको उठान गरेका छन् । आशा गरौँ यस विषयमा विद्वत वर्गको थप ध्यानाकर्षण हुनेछ ।

[साभार: http://nawarajkhatiwada.blogspot.com/%5D

Advertisements
 
Leave a comment

Posted by on March 16, 2015 in EXPRESSIONS

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: