RSS

अजीबको जीव मान्छे

08 Dec

मुकुन्दप्रसाद उपाध्याय
हामी सबैले प्राथमिक शिक्षा आर्जन गर्ने क्रममा के पढ्यौँ भने मानिस सामाजिक प्राणी हो, अर्थात् मान्छे समाजमा वा मान्छेको भीडमा रमाउने प्राणी हो, अनि घरपरिवार, इष्टमित्र, टोलछिमेक नै उसको वैचारिक धरातल हो। पछि आएर मात्र थाहा भयो यथार्थमा समाज मान्छेको वैचारिक धरातल होइन रहेछ। त्यो त उसको रक्षाकवच मात्र पो रहेछ। मान्छेलाई जङ्गली जीवजन्तुहरूबाट बच्न, बाढीपहिरो र आगजनी आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन, रोगव्याधिसँग जुध्न अनि चोर, डाकु, लुटेरा आदिको भयबाट बच्नका लागि मान्छेलाई मान्छे चाहिने रहेछ । मान्छे मान्छेका लागि त्यसभन्दा बढी होइन रहेछ । जब यी विविध भय र डरत्रासबाट राज्य वा सरकारले मान्छेलाई प्रत्याभूति दिन थाल्छ, तब ऊ एक्लो जीवन जिउन पनि समर्थ हुन्छ। उत्कृष्ट राज्यव्यवस्था अन्तर्गतको युरोपीय र अमेरिकी जीवनशैली यसैको उदाहरण हो। 
जब मान्छे प्रौढ हुन्छ, दुनियाँदारी देख्छ, चौरासी हन्डर खाएर परिपक्व हुन्छ, अनि उसले मान्छेको वास्तविक स्वरूप चिन्दछ, अनि तिनको आवश्यकता र औचित्यबारे घोत्लन बाध्य हुन्छ । त्यस अवस्थामा हामी स्पष्टसँग भन्न सक्तछौँ मान्छे जबसम्म सिर्फ मान्छेमै सीमित रहन्छ, तबसम्म मात्र हामी मान्छेलाई मान्छे चाहिने रहेछ । जब हामी आम मान्छेबाट अलिकति माथि उठ्छौँ, जब मान्छे मात्र नभएर मानव कहलाउँछौँ, तब हामीलाई के लाग्न थाल्छ भने यस सृष्टिमा सबैभन्दा खराब, सबैभन्दा निकृष्ट र सङ्गत गर्न अयोग्य जन्तु नै मान्छे रहेछ । धोका, फरेब, जालझेल, तिकडम, बेइमानी, दुराचार, भ्रष्टाचार, कृतघ्नता, यी सबै चरित्र, गुण र विशेषताहरू भएको प्राणी त मान्छे मात्रै रहेछ । मान्छेबाहेक अन्य कुनै पनि जीवजन्तुहरूमा त यी दुर्गुणहरू हुँदै हुँदा रहेनछन् । मान्छेजस्तो चुत्थो, मतलबी र स्वार्थी जीव यस ब्रह्माण्डमै अर्को रहेनछ । त्यसैले त आम मान्छेभन्दा अलिकति माथि उठेका सन्त, महात्मा, सिद्धपुरुष र फकिरहरू मान्छेको भीडबाट छुट्टिएर एक्लै बस्न चाहन्छन्, मान्छेको कोलाहलबाट भाग्न चाहन्छन्, अनि घना जङ्गलबीच हिमालय क्षेत्रमा र पहाडका गुफाकन्दराहरूमा बस्न रुचाउँछन् । मान्छेको कृत्रिम लोलोपोतोका बीचबाट भागेर बरू हिंसक जङ्गली जीवजन्तुहरूसँग नै बस्न रुचाउँछन्।  त्यसैले होला सायद पश्चिममा पनि प्रौढ र परिपक्व मान्छेहरू मान्छेसँग नबसी घरमा कुकुर, बिरालो, बाँदर आदि पालेर एक्लै बस्न रुचाउँछन् । समाजमा र घरपरिवारमा बस्नुभन्दा चिडियाखाना, म्युजियम र आर्टग्यालरीमा बस्न रुचाउँछन् । उनीहरू नातिनातिनाको भ्रामक तोतेबोलीबीच आफूलाई अभ्यस्त पार्नुभन्दा एकान्तमा भ्वाइलिन र गितारको मधुर धुनबीच बस्न रुचाउँछन् ।
मान्छे भनिने यी जन्तुहरू पनि अजीवका छन् । विश्वका आश्चर्यजनक चमत्कार र आविष्कारका जनक पनि मान्छेहरू नै हुन् । मोटर, रेल, पानीजहाज र हवाइजहाज बनाउने पनि मान्छेहरू नै हुन् । प्राणघातक रोगव्याधिका विरुद्ध खोप, औषधि र सर्जिकल यन्त्रउपकरण बनाउने पनि मान्छेहरू नै हुन् । रङ्गीचङ्गी र सफासुग्घर सहरहरू बसाउने पनि मान्छेहरू नै हुन् । अनि यस प्रकृतिलाई बिगारेर तहसनहस पार्ने, प्रकृतिप्रदत्त हावा ग्रहण गर्न नमिल्ने, प्रकृतिप्रदत्त जल सेवन गर्न नमिल्ने गरी प्रदूषित बनाइदिने कामका जनक पनि मान्छेहरू नै हुन् । मान्छेलाई पेट भर्न आवश्यक पर्ने अन्नबाली उमार्नका लागि खेती गर्न सिकाउने पनि मान्छेहरू नै हुन् भने विशाक्त खाद्य र विषाक्त रसायनले युक्त तरकारी र फलफूल उमार्ने पनि मान्छेहरू नै हुन् । भगवान् शिव, राम र कृष्णलाई समेत गाली गर्ने र आरोपित गर्नेहरू मान्छे नै हुन्। गुरु नानकलाई जेल हाल्ने पनि मान्छेहरू नै हुन् । ग्यासच्याम्बर बनाउने पनि मान्छेहरू नै हुन्। अनि महात्मा गान्धीलाई गोली ठोक्ने पनि मान्छे नै हो। त्यसैले त भनिन्छ, एउटा नर नरपिशाच पनि बन्न सक्तछ अनि त्यही नर नारायण पनि बन्न सक्तछ। 
नेपालको सन्दर्भमा पनि आजका हरेक नेपालीलाई विश्वमानचित्रबीच नेपालीको पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई मरणोपरान्त उनको सालिक भत्काउने पनि मान्छेहरू नै हुन् अनि पछिल्लो दस वर्षको सशस्त्र सङ्घर्ष (जनयुद्ध) बीच मारिने निरपराध जीव पनि मान्छेहरू नै हुन् र मार्ने हिंसक जीव पनि मान्छेहरू नै हुन् । विधिको शासनको बखान वा वकालत गरेर कहिल्यै नथाक्ने अनि न्यायालयको फैसलाचाहिँ नमान्ने पनि मान्छेहरू नै हुन् । नेपालको सन्दर्भमा यस्ता उदाहरणहरू मात्र प्रस्तुत गर्ने हो भने पनि महाभारतभन्दा ठूलो महाकाव्य नै बन्नेछ ।
हाम्रा वैदिक साहित्य वेद, उपनिषद् र पुराणहरूले मान्छेबाट मुमुक्षुसम्म भएका साधकहरूलाई के निर्देश गर्छन् भने एकान्तप्रिय बन, मौन बस, चाहिनेभन्दा धेरै नबोल, अपरिग्रही बन अर्थात् आवश्यकताभन्दा बढी पदार्थको सङ्ग्रह नगर आदि। श्रीमद्भगवद्गीताले पनि भक्तहरूका लागि अनि ज्ञानी र योगीहरूका लागि त्यस्तै उपदेश दिएको छ । अर्थात् सारांशमा एक साधकले, एक भक्तले अनि एक मुमुक्षुले आम मानिसहरूबाट पृथक् बस्न तिनीहरूले निर्देश गरेको पाइन्छ । आम मानिस संसारी हुने र विषयी पनि हुने भएकाले तिनीहरूबाट अलग बस्न, निर्लिप्त भएर बस्न भनिएको छ । बाध्यतावश बस्नै परेछ भने पनि हिलोका बीच कमलपुष्पझैँ भई बस्न भनिएको छ । 
संसारी मानिसहरू प्रायः परिग्रही हुन्छन्, अर्थात् पदार्थहरू सङ्ग्रह गरेर राख्छन्। ती यावत् वस्तुहरू मानिसहरू किन सङ्ग्रह गर्छन् भने आफ्नो वरिपरिका मान्छेहरूका लागि तिनीहरू काम लागुन् । ती मान्छेहरू भनेका छोराछोरी, नातिनातिना, साथीसँगाती आदि हुन्छन् । व्यक्तिगत आवश्यकता बढाउँदै लगेर सङ्ग्रह गर्नु पनि अरू मान्छेहरूलाई देखाउनका लागि मात्रै हो । मान्छेलाई चौबीस घन्टामा एक अँजुली खाद्य पदार्थ भए पुग्छ, पेय पदार्थमा शुद्ध जल भए पुग्छ । आङ ढाक्न एकसरो कपडा भए हुन्छ । सुत्नका लागि ३ देखि ६ फिटे खाट पनि चाहिँदैन, धर्तीको न्यानो काख पर्याप्त हुन्छ । जमिन कति चाहिन्छ भने अन्त्यमा ६ फिट जमिन भए जलाउन पुगिहाल्छ । त्यति जमिन किन्नुपर्दैन । तर आफूलाई सुकुम्वासी भनेर गर्व गर्ने मान्छे होस् वा पीर गर्ने मान्छे, ती सबैजना आफ्नो आवश्यकता बढाएर परिग्रही बनेका हुन्छन् । शास्त्र भन्छ तृष्णाको कुनै सीमा छैन । त्यसका खातिर सङ्ग्रह गर्नु नै दुःखको कारण हो । यस अर्थमा पनि मान्छेको दुःखको कारण र दुःखको स्रोत पनि मान्छे नै हुँदा रहेछन् ।
हामी निर्धक्कसँग के भन्न सक्छौँ भने हामी मान्छेको महान् शत्रु मान्छे नै हो, मान्छेदेखि बाहेक हाम्रो अरू कुनै शत्रु छैन ।
Advertisements
 
Leave a comment

Posted by on December 8, 2014 in Miscellaneous

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: