RSS

Monthly Archives: September 2012

ट्रकबस साहित्य र इ–साहित्य

– मुकुन्दप्रसाद उपाध्याय

नेपाली साहित्यभित्र मौलाएका अनेक विधाहरूमा काव्यविधा साहित्यको प्राणका रूपमा रहेको छ। यो प्राणको उपप्राणका रूपमा काव्यभित्र गीत, गजल, मुक्तक, सायरी, हाइकु आदि विधाहरू पनि झाङ्गिएका छन्। यी नेपाली वाङ्मयका उपप्राणरूपी विधाहरूको सँगालो — क्वाँटीका रूपमा अर्को एउटा विधा पनि मौलाएकै मान्नुपर्छ, त्यो हो ट्रकबस साहित्य। नेपाल (र भारतमा पनि) का राजमार्गमा गुड्ने प्रायः सबै ट्रकबसको पछाडि दुई साइडलाइटको बीचको भाग यस्तै काव्यसिर्जनाहरूले भरिएको पाइन्छ। त्यहाँ हिन्दी, नेपाली, मैथिली र नेवारी भाषामा सायरी, मुक्तक, हाइकु आदि पढ्न पाइन्छ र कतिपय सिर्जना नितान्त मौलिकसमेत रहेको प्रतीत हुन्छ। तर दुर्भाग्य, त्यस्ता मौलिक सिर्जनाको स्रष्टा भने अज्ञात हुन्छ। उसको नाम–ठेगाना इतिहासको बहावमा विस्मृत छाल बराबर तुहिने क्रम जारी छ।

केही दिनअघि साँझपख भक्तपुरबाट धुलिखेल फर्कने क्रममा साँगाको उकालोमा अगाडिको ट्रकको गति कम हुँदा दुइटा ट्रकको पछाडिको लेखन पढ्ने सौभाग्य प्राप्त भयो। त्यसमध्ये एउटा थियो —

न आमाको माया, न बाबुको प्यार

ड्राइभरको जिन्दगी बेकार छ यार

त्यस्तै अर्को थियो —

भोकले भन्दैन चामलको भात

प्रेमले भन्दैन कहिल्यै जातभात

अनि निद्राले भन्दैन मसानघाट

यी दुई सिर्जना समसामयिक, मार्मिक र सुन्दर छन्। तर यसको अँध्यारो पक्षचाहिँ के हो भने यिनको मौलिक रचनाकारचाहिँ अज्ञात छ। त्यो पढेर मैले गम खाएँ अनि गम्न थालेँ — म त कुनै कवि होइन, न मूद्र्धन्य स्रष्टा नै। मेरो ठाउँमा देशका प्रतिष्ठित कवि कोही हुँदो हो त उसको मनमा कस्ता वैचारिक तरङ्गहरू उठ्थे होलान् ? यो सिर्जनाले उसलाई के प्रेरणा मिल्थ्यो होला ? कुनै आसुकवि भएको भए यी दुई सिर्जनाले थप नयाँ रचना स्फुरित हुन्थ्यो होला। आदिकवि भानुभक्तले आफ्नो जीवनमा बसट्रक देख्न पाएनन्। त्यसैले उनले प्रेरणा लिनुप¥यो घाँसीबाट। वर्तमानका कुनै नवागन्तुक मेरो ठाउँमा हुन् त उनले कस्तो कविता कोर्थे होलान् त ? सायद उनी लेख्थे होलान् —

भरजन्म स्टेयरिङ र ब्रेकमा ध्यान दिएर केही सीप कमायो

सिर्जनात्मक काम केही गरूँ भनेर ट्रकमा कविता बनायो

यातायात मजदुर त हो तर सिर्जना कस्तो ?

म स्थापित स्रष्टा भएर पनि आज यस्तो

मलाई लाग्यो अचेल दुई–चार शब्द खेलाउनासाथ नवोदित स्रष्टालाई गाउँ, टोल र जिल्लाहरूमा स्रष्टाको पगरी गुथाएर सम्मान गर्ने, दोसल्ला ओढाइदिने नवीन संस्कृति मौलाएको छ। यस्तो वर्तमान परिवेशमा ट्रकबसका पछाडि कोरिएका यस्ता रचनाहरूका स्रष्टालाई खोजी–खोजी तिनलाई पनि सम्मान गर्नुपर्ने होइन त ? यस दिशामा नेपाल प्रज्ञाप्रतिष्ठानलगायत अन्य साहित्यिक प्रतिष्ठानहरूको ध्यान जानुपर्ने होइन र ?

नेपाली साहित्यको इतिहासमा स्थापित भइसकेको यो बसट्रक साहित्यिक विधालाई अझ व्यवस्थित गर्नुपर्ने साहित्यानुरागीहरूको आग्रह अस्वाभाविक होइन। यसका साथै अब साहित्यिक प्रतिष्ठानहरूले अर्को नवीन विधातिर पनि ध्यान दिनुपर्ने बेला भइसकेको छ। त्यो हो इ–साहित्य। वर्तमान युग सूचना–प्रविधिको युग हो। इ–कमर्स, इ–बिजनेस, इ–बैङ्किङ आदि स्थापित भइसकेका छन्। हरेक युवायुवतीका हातहातमा मोबाइल, आइफोन, ल्यापटप, पामटप, आइप्याड आउन थालेको छ। फेसबुक, ट्विटर, ब्लग आदिमा नवीन विचार, नवीन दर्शन र नवीन रचनाहरू आउन थालिसकेका छन्। फेसबुक र ब्लगमा अभिव्यक्त समसामयिक विचारहरू पनि नूतन सामग्रीका रूपमा स्थापित हुने नै छन्। गत वर्ष अर्थसचिव रामेश्वर खनालले गलत राजनीतिक संस्कृति र दलीय हस्तक्षेपका कारण पदबाट राजिनामा दिएपछि फेसबुकमा लेख्नुभएका धारणाहरू अब्बल साहित्यका खुराकहरू थिए भने भारतमा हालसालै सिनेकलाकार राजेश खन्नाको निधन र शत्रुघ्न सिन्हाको सघन उपचारपछि अभिनेता अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका विचारहरू गहन मर्मस्पर्शी र चिन्तनहरू हुन्। यिनीहरूजस्तै चिन्तनको सँगालो नै हो साहित्य भनेको।

नेपाली वाङ्मयको क्षितिजमा इ–साहित्य विधाले जोडदार दस्तक दिइरहेको छ। हामीले आफ्नो कान थुनेर वा आँखा चिम्लेर बस्न सक्ने अवस्था छैन। अब हाम्रा साहित्यसम्बन्धी राष्ट्रिय प्रतिष्ठानहरूले, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभागले, मदन पुस्तकालय आदिले समयमै यतातिर पनि ध्यान दिनुपर्ने बेला भइसकेको छ जस्तो लाग्छ। फेसबुक, ब्लग आदिको उपयोग गर्ने क्रममा राज्यले पनि त्यससम्बन्धी कानुनहरू ल्याएर त्यसलाई व्यवस्थित गर्दै लगेन भनेचाहिँ उच्छृङ्खलता र अश्लीलतातिर उन्मुख हुँदै जानेछ अनि हठात् राज्यले यस्ता प्रविधिहरूमाथि नै प्रतिबन्ध लगाउनुपर्ने आवाजहरू उठ्न थाल्नेछन्। यसबारे सचेत नागरिकहरूबाट समयमै सचेतताको अपेक्षा गर्न सकिन्छ।

Advertisements
 
Leave a comment

Posted by on September 20, 2012 in EXPRESSIONS