RSS

वाणीको नालीबेली

22 May
मुकुन्दप्रसाद उपाध्याय
धेरै पहिले एकजना कविको एउटा कविता पढेको थिएँ। कविको नामचाहिँ याद रहेन। त्यस कविताको एउटा हरफ म अझै सम्झन्छु। त्यो थियोबोलीबाट हुँदैन क्यै किन भनूँ, बोलेर पो हुन्छ के?अर्थात् कविले हाम्रो बोलीको महत्ता र प्रभावबारे लेखेका थिए। हुन पनि हो, हामी मानवजातिलाई प्रकृतिले दिएको अनुपम एवं अद्वितीय उपहार नै बोलीहो, जसलाई संस्कृत भाषामा वाणीभनिन्छ। बोलीवा वचनशब्दले भन्दा वाणीशब्दले वृहत् अर्थ समेटेको हुन्छ। 
धार्मिक मान्यताअनुसार जलचर, थलचर र नभचर जीवहरूको सङ्ख्या ८४ लाख बताइएको छ। त्यसैले हामी जीवहरूले ८४ लाख योनिमा भ्रमण गर्नुपर्ने कुरा पुनर्जन्मको सिद्धान्तले बताएको छ। ८४ लाख जीवहरूमा मानवजातिलाई नै सर्वश्रेष्ठ मानिन्छ। जीवहरूमा मानव नै यस्तो प्राणी हो जो कर्म, तप, ज्ञान, भक्ति आदिबाट देवतुल्य बन्ने वा देवता हुने सामर्थ्य राख्दछ। त्यस्तो सामर्थ्य हामीलाई बुद्धिविवेक प्राप्त भएकाले सम्भव भएको हो। बुद्धि र विवेकको प्रकटीकरण र ग्रहणको माध्यम अनि सार नै वाणी हो। ज्ञान वा ब्रह्मज्ञान बुझ्नुपर्दा वा बुझाउनुपर्दा वाणीकै सहारा लिनुपर्ने हुन्छ। त्यसैले वाणीलाई ऋक् भनिन्छ। ऋक् भनेकै ज्ञान वा प्रज्ञा हो। वेदले नै भन्छ — ‘प्रज्ञानं ब्रह्मअर्थात् यो प्रज्ञा नै ब्रह्म हो। 
ज्ञानको खोज, संरक्षण र अभिलेखको माध्यम त्रेतायुगसम्म वाणी नै थियो। गुरुकुलमा सम्पूर्ण वेदवेदाङ्गहरूको अध्ययनअध्यापन गुरुशिष्यपरम्पराअनुसार गरिन्थ्यो। गुरुले वाणीद्वारा घोकाउँथे र शिष्यले कण्ठस्थ गर्थ्यो। अनि त्यही शिष्य कालान्तरमा गुरु बनी अर्को पुस्ताका प्रतिनिधि शिष्यहरूलाई घोकाउने गर्थ्यो। धेरै पछि मात्र लिपिको आविष्कार भयो र त्यसपछि वाणी लिपिबद्ध भई संरक्षित हुन थाल्यो। प्राचीन लिपि ब्राह्मीलिपिलाई मानिन्छ। त्यसकै शाखा देवनागरी लिपि हो, जुन हाम्रो लिपि हो। यो लिपि प्राचीन कालमा शिलालेख र ताम्रपत्रमा लेखिन्थ्यो। धेरै पछि कागजको आविष्कार भयो र त्यसपछि यो लिपि कागजमा आयो। झन्डै हजार वर्षभन्दा बढी कागजको साम्राज्य भयो भने २१ औँ शताब्दीदेखि यो क्रम क्रमशः कागजबाट कम्प्युटर चिप्समा रूपान्तर हुँदैछ। 
बोलीको प्रभावबारे भन्नुपर्दा के भन्नुपर्छ भने यो पारसमणितुल्य मूल्यवान् छ र अनेकानेक समस्या र सङ्कट आदिबाट तत्तत् समयमा बलिएको वाणीवचनले ठूलो राहत र मुक्ति प्रदान गर्दछ। विश्वमा भएका अनेक ठूलाठूला वादविवाद, सङ्घर्ष र युद्धको कारण पनि कुनै खास परिस्थितिमा कसैले बोलेको वाणी नै हुन पुगेको छ। इतिहास र पुराणहरूमा पछिल्लो कालखण्डका सबैभन्दा चर्चित र लोकप्रिय महाकाव्यहरू रामायणमहाभारतमानिन्छन्। ती दुवै महाकाव्यको कथावस्तुको उत्कर्ष नै भीषण युद्ध हो भन्दा हुन्छ। रामायणको चुरो नै के हो भने त्यस बेलाको त्रिलोकविजयी असुरसम्राट् रावणले देवताहरूसमेतलाई परास्त गरेकाले उसलाई युद्धमा परास्त गर्न परब्रह्म परमात्माले नै अवतार लिनुपरेको थियो। लङ्काकाण्ड वा युद्धकाण्डको पृष्ठभूमि रामको वनवास हुनु थियो, अनि त्यसको पृष्ठभूमि र कारणचाहिँ राजा दशरथले कुनै बेला रानी कैकेयीलाई दिएको वचन (वरदान) शियो र त्यस वचनको कार्यान्वयन हुनुको कारण फेरि मन्थराको वाणी नै थियो। सीताहरण रामरावणयुद्धको कारण बन्यो र त्यस सीताहरणको कारण पनि रामको वाणी प्रतीत हुने गरी हे लक्ष्मण !भनेर गुहार मागेको मारिचको वाणी नै थियो। 
ऐतिहासिक महाभारतको महायुद्धमा ऐतिहासिक सयौँ वीर महायोद्धाहरूले वीरगति पाई एउटा पिँढीकै विनाश भएको थियो। त्यस्तो भयानक युद्धको कारण पनि द्रौपदीको कटुवचन (वाणी) अर्थात् अन्धाको छोरो अन्धोभनेर युवराज दुर्योधनलाई भनिएको वचन नै थियो। त्यही महाभारतमा वर्णित असुर कंसको विनाश र जरासन्धसँगको श्रीकृष्णको पटकपटकको युद्धको पृष्ठभूमि पनि देवकीविवाहपश्चात् भएको आकाशवाणी नै थियो। त्यस्तै, यस ब्रह्माण्डका विभिन्न लोकहरूमध्ये सबैभन्दा महत्वपूर्ण लोक ध्रुवलोकलाई मानिन्छ। किनभने यस ब्रह्माण्डको बीचमा कुमालेको चक्‍काको सुमेरुका रूपमा ध्रुवलोक रहेको छ, जसका वरिपरि अन्य सबै लोक, ग्रह, नक्षत्र र ताराहरू निरन्तर चक्कर काटिरहेका हुन्छन्। त्यस लोकका स्वामीभक्त ध्रुवले त्यो लोक प्राप्त गर्नुको पृष्ठभूमि पनि वाणी नै थियो। बाल्यकालको बालसुलभ मस्तिष्कमा सौतेनी आमाको कटुवचनले मर्माहत भई उनी कठोर तप गर्न वनतिर हिँडे र त्यही तपका प्रभावले उनले श्रीहरि विष्णुबाट ध्रुवलोक पाएका थिए। 

वाणीको बेलिविस्तार लगाउँदा अक्षरको पनि चर्चा गर्नुपर्ने हुन्छ। अक्षरलाई शास्त्रहरूले अक्षरं ब्रह्मभनेर ब्रह्मसँग तुलना गरेका छन्। क्षर भनेको नाश हुने वस्तु हो भने अक्षर भनेको नाश नहुने वस्तु भएकाले यो ब्रह्म हो। हामी जीवहरूको, देवीदेवताहरूको, कहाँसम्म भने सृष्टिकर्ता ब्रह्माको पनि निश्चित आयु हुन्छ, अर्थात् यस सृष्टिमा दृष्टिगोचर हुने, उत्पत्ति हुने र वृद्धि हुने हरेक वस्तु नाशवान् छन्। तर अक्षरको कहिल्यै नाश हुँदैन। यो न कहिल्यै जन्मनेवाला नै हो। यो त सनातन हो। त्यसैले अक्षरलाई ब्रह्म हो भनेर बताइन्छ। अक्षरब्रह्मको प्रतीक प्रणव अर्थात् ॐकारलाई लिइन्छ। सम्पूर्ण अक्षरहरूको सार र जनक ॐकार भएकाले ॐकार शब्दब्रह्म हो र यो वाणीबाट अभिव्यक्त हुँदा नादब्रह्म हुन्छ। पञ्चतत्वबाट जीव र पञ्चतत्वबाटै अखिल ब्रह्माण्ड बनेको हुन्छ। सृष्टिको आरम्भमा एकोऽहम् बहुस्याम्का रूपमा परब्रह्मले एकबाट अनेक हुने चाहना र सङ्कल्प गर्नु नै सृष्टिको कारण र आधार हो। पञ्चतत्वमा पहिलो तत्वका रूपमा आकाश उत्पन्न भयो। आकाशबाट क्रमशः वायु, तेज, जल र धर्ती बनेका हुन्। हरेक तत्वहरूका विशेष गुणहरू पनि हुन्छन्। आकाशको गुण नै शब्द हो। शब्द भनेकै ध्वनि हो, अर्थात् आकाशतत्वको गुण ध्वनि हो अनि ध्वनि र शब्दको सम्मिलन, समायोजन वा मिथुन नै वाणी हो। ध्वनि मात्र स्वरलहरी हुन सक्छ, लिपिबद्ध गर्न नसकिने ध्वनि हुन सक्छ, अनाहत नाद वा सङ्गीत हुन सक्छ भने वाणी नाद र सङ्गीत दुवै हो र यो लिपिबद्ध पनि गर्न सकिन्छ। आकाशको गुण शब्द हो। विनाआकाशतत्व शब्द वा ध्वनिप्रवाह सम्भव छैन। त्यसैले मादल, ढोल, तबला, वीणा, बाँसुरी, हार्मोनियम आदि सम्पूर्ण वाद्यवादनहरूको संरचनालाई नियाल्दा त्यहाँ खाली ठाउँ देखिन्छ। खाली ठाउँ वा आकाश भएकाले नै तिनीहरूबाट ध्वनि उत्पन्न हुन्छ। त्यसैले हाम्रो बोली उत्पादन हुने मुखको बनोटमा पनि दुई तालुबीच खाली स्थान (आकाशतत्वको उपस्थिति) हुन्छ। त्यसैले बोली फुट्ने गर्दछ। सम्पूर्ण वैदिक मन्त्रहरू र स्तुतिहरूमा शब्द र वाणीको विलय भएकाले शब्दलाई शब्दब्रह्म भनिएको हो र देखि सम्म (‘क्ष’, ‘त्र’, ‘ज्ञलाई शास्त्रमा अक्षर मानिएको छैन) का हरेक अक्षरलाई बीजमन्त्र भनिएको हो। 
हिन्दूधर्मलाई सनातनधर्म र वैदिक धर्म पनि भनिन्छ। विश्वग्रन्थहरूमै सर्वप्राचीन ग्रन्थ मानिने वेदविहित धर्म हिन्दूधर्म हो। वेद भनेको ज्ञान हो, अनि वेद भनेको इतिहासका अनेक कालखण्डहरूमा भएका तत्वदर्शी ऋषिमुनिहरूका वाणीको सङ्ग्रह हो। वेद, उपनिषद्, संहिता आदिको सारवस्तु पनि वाणी हो। वाणी कतै मन्त्रका रूपमा, कतै स्तुतिका रूपमा त कतै सूत्रका रूपमा रहेको हुन्छ। १०८ वटा उपनिषद्हरूको निचोड वा सारांश श्रीमद्भगवद्गीताहो, जुन अन्य धेरै भाषाहरूमा अनुवाद गरिसकिएको छ। गीताभनेको पनि सारमा भगवान् श्रीकृष्णको वाणी नै हो। त्यस्तै अन्य गीताहरूमा रामगीताश्रीरामको वाणी हो भने शिवगीताभगवान् शिवको वाणी हो। 
हाम्रा ऋषिमुनिहरूले आआफ्ना वाणीको आदानप्रदान गरी शास्त्रार्थद्वारा तत्वको निरूपण गरेका हुन्। त्यसैले हिजोआज पनि हामी भन्ने गर्दछौँ — ‘वादे वादे जायते तत्वबोधः।हाम्रो भौतिक जगत्का विभिन्न आविष्कारहरूमध्ये अधिक मूल्यवान्, चर्चित र क्रान्तिकारी आविष्कारहरू वाणीसम्बन्धी आविष्कार नै हुन्। लिपिको आविष्कारपछि सूचनाप्रविधिक्रान्तिसम्म आइपुग्दा वाणीसम्बन्धी विविध आविष्कारहरू हुँदै गए र हामी आकाशवाणी, टेलिफोन, स्पिकर साउन्ड सिस्टम आदि हुँदै मोबाइल, टेलेक्स, फ्याक्स, इन्टरनेट र इमेलमा आइपुगेका छौँ। यी सबै वाणीविस्तारका विभिन्न शैलीहरू हुन्। त्यसैले होला गीतामा पनि भगवान् श्रीकृष्ण १७ औँ अध्यायमा अर्जुनलाई वाणीको महत्व बताउँदै भन्नुहुन्छ — “प्रिय, हितकर एवं सत्यभाषण (सत्यवचन), वेदशास्त्रको पठनपाठन र भगवान्को नामजपसम्बन्धी अभ्यास नै वाणीसम्बन्धी तप हो।
हाम्रो जीवनको अभिन्न अङ्ग तथा अति महत्वपूर्ण र संवेदनशील धरोहरका रूपमा रहेको हाम्रो बोली अर्थात् वाणी कसरी प्रस्फुटन हुन्छ ? हामीले आफ्नो मुखारविन्दबाट धाराप्रवाह वाणी प्रस्फुटन गर्दा शरीरभित्र कुनकुन स्थानहरूबाट बहँदै मुखसम्म आइपुग्छ ? यी कुराहरू जान्नु पनि आवश्यक देखिन्छ। हाम्रो शरीरमा विभिन्न चक्रहरू हुन्छन्। पलेटी कसेर सिधा भई आसन जमाएर बस्ता तलबाट क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, हृदय, विशुद्ध, आज्ञा हुँदै टुपीनेर सहस्रारचक्र भएको अनुभव गर्न सकिन्छ। यी चक्रहरूसँग वाणीको सम्बन्ध रहेको हुन्छ। वाणीहरू चार प्रकारका हुन्छन् अथवा उद्गमदेखि प्रवाहसम्म आइपुग्दा हाम्रो वाणीले चार चरण पार गर्नुपर्ने हुन्छ। ती हुन् परा, पश्यन्ती, मध्यमा र वैखरी। कसैले यिनैलाई परावाणी, पश्यन्तीवाणी, मध्यमावाणी र वैखरीवाणी भनेर व्याख्या गर्ने गर्दछन्। हाम्रो गुदद्वार अर्थात् मलद्वारभन्दा दुई अङ्गुल माथितिर चार अङ्गुल क्षेत्रफलमा फैलिएको एक आधारकमल रहन्छ, त्यसलाई मूलाधारचक्र भनिन्छ। त्यो चक्र सुषुम्णानाडीको पनि आधारस्थान भएकाले त्यस स्थानलाई कुण्डलिनी पनि भनिन्छ। कुण्डलिनीलाई शक्तिको आधारस्तम्भ र विन्दुशक्ति मानिन्छ। त्यही शक्तिद्वारा मूलाधारचक्रमा अव्यक्त वाणीको उद्गम हुन्छ, जसलाई परावाणी भनिन्छ। परावाणीको उद्गम गराउने शक्तिलाई वीणावादिनी सरस्वती भनिन्छ। हाम्रा मुख्य तीन नाडी इडा, पिङ्गला र सुषुम्णाको पनि उद्गमस्थल त्रिवेणी भनिने यो मूलाधारचक्रलाई अङ्ग्रेजीमा Pelvic Plexces भनिन्छ। परावाणी मूलाधारमा उत्पन्न हुँदा क्रियाशक्ति र ज्ञानशक्तिको योगबाट भइरहेको हुन्छ। गुणातीत महायोगीहरूले मात्रै परावाणीको प्रभावलाई अनुभव गर्न सक्तछन्। मूलाधारचक्रभन्दा दुई अङ्गुल माथि लिङ्गस्थानको समानान्तर मेरुदण्डमा स्थित चक्रलाई स्वाधिष्ठान भनिन्छ भने स्वाधिष्ठानको पनि दुई अङ्गुल माथि तेस्रो चक्रका रूपमा मणिपुरचक्र रहन्छ। त्यसलाई नाभिस्थान पनि भने हुन्छ। त्यहाँ दसपाते कमल हुन्छ जुन स्वर्णवर्णको हुन्छ। यहाँबाटै पश्यन्तीवाणी प्रवाह हुन्छ भनिन्छ। पश्यन्ती नामक निरपेक्ष वाणी प्रवाहित हुने नभई मूलाधारबाट प्रवाहित हुने परावाणी यहाँबाट पश्यन्तीवाणीमा रूपान्तरण हुने हुन्छ होला। यसमा चाहिँ मतान्तर हुन सक्छ। मणिपुरचक्रकी अधिष्ठात्री देवी लाकिनी हुन् भने देवता विष्णु हुन्। यहाँको वाणी पश्यन्तीचाहिँ सुषुप्त मनसँग सम्बन्धित हुन्छ। आफ्नो मनलाई जित्‍न सकेका योगीहरूले मात्र पश्यन्तीवाणीको प्रकाश पाउन सक्तछन्। अनाहतचक्रमाथि हृदयमा मध्यमावाणी रहन्छ भनेर बताइएको छ। यो चक्र शरीरको केन्द्रीय चक्र हो। हृदयचक्र बाह्रपाते कमलको आकारजस्तो रहेको कल्पना गरिएको छ र कमलको बीचमा जीवका रूपमा रहने रातो ज्योतिलाई वाणलिङ्ग भनेर बताइएको छ। यस स्थानका देवता स्वयं शिव र शक्तिचाहिँ काकिनीदेवी हुन्। हृदयस्थानमा प्रवाहित हुने अव्यक्त वाणीले बुद्धिसँग समन्वय गर्दछ। यस विन्दुमा वाणीलाई बुद्धिले प्रभावित र निर्देशित गर्न सक्तछ। बुद्धिमान् योगीहरूले मध्यमावाणीको प्रकाश पाउन सक्तछन्। अनाहत नाद अर्थात् उद्गीथ ध्वनि ॐकारवाणीको उद्गमस्थान पनि यही नै हो भनेर शिवसारतन्त्रमा बताइएको छ। हृदयकेन्द्रबाट माथि उठेर कण्ठ हुँदै दाँत, जिब्रो र तालुका सहायताले मुखबाट अरूले सुन्ने गरी व्यक्त हुने वाणीचाहिँ वैखरीवाणी हो। अव्यक्त गुणातीत स्थानबाट स्वतः स्फुरण भएको हाम्रो परावाणी पश्यन्तीमा मनसँग र मध्यमामा बुद्धिसँग समन्वय गर्दै वैखरीका रूपमा मुखबाट उच्चरित हुने गर्दछ। भाषाशास्त्रहरूले मध्यमाबाट स्वरवाणीहरू प्रवाहित हुन सक्ने र वैखरीबाट व्यञ्जनवाणी प्रवाहित हुन सक्ने तर्क गर्दछन्। तर सारमा केचाहिँ बुझ्नुपर्ने हुन्छ भने परा, पश्यन्ती र मध्यमा, यी तीन वाणी अव्यक्त वाणी हुन् भने वैखरी मात्र व्यक्त वाणी हो। 
हिजोआज अर्थहीन, विना कुनै प्रयोजनको बकबक वाणीलाई हेय दृष्टिले वैखरी भन्ने चलन चलेको छ। तर वाणीप्रभावको गतिलाई हामी कसरी पनि बुझ्न सक्तछौँ भने जसरी गङ्गा आफ्नो उद्गमस्थान गङ्गोत्रीबाट बगेर हरिद्वार, प्रयाग, वाराणसी हुँदै गङ्गासागरमा समाहित हुन्छिन्, त्यसरी नै वाणीको उद्‍गम मूलाधारबाट परावाणीका रूपमा प्रवाहित हुँदै पश्यन्ती र मध्यमा भएर वैखरीवाणीबाट शब्दब्रह्मको महाकाश (वायुमण्डल) मा समाहित भइरहेको हुन्छ। 
अस्तित्वमा जड र जडभिन्न गरी दुई तत्व छन् भनिन्छ। यी दुवै स्थायी तत्व हुन्, जो प्रलयपर्यन्त रहिरहन्छन्। जडवस्तु भनेको पदार्थ हो, जुन अणुपरमाणुका रूपमा रहन्छ। पदार्थ रूपान्तरण मात्र हुन्छ, नाश हुँदैन। त्यसरी नै जडभिन्न पदार्थहरूलाई पूर्वीय दर्शनले चैतन्य भन्छ त पाश्चात्यले शक्ति, ऊर्जा वा प्रकृतिका रूपमा स्वीकार्दछ। यस समष्टिगत रूपको द्वयविभाजनमा वाणी पनि निश्‍चय नै जडभिन्न वस्तु हो। जडभिन्न वस्तुको पनि नाश हुँदैन, केवल सङ्कुचन र विस्तार मात्र हुन्छ। वाणी शब्दब्रह्म भएकाले यो नाशवान् वस्तु हुँदै होइन। हामीले बोलेका, विश्वका अन्य जीवहरूले बोलेका, इतिहासका अनेक कालखण्डमा बोलिएका र भविष्यमा अनन्तकालसम्म बोलिने सबै वाणीहरू यस वायुमण्डलमा घुमिरहन्छन्, सुरक्षित भइरहन्छन्। आकाशतàवको गुण नै शब्द भएकाले यो विशाल अनन्त महाकाशले सम्पूर्ण शब्द (वाणी) हरूलाई धारण गरिरहेको हुन्छ। सरसर्ती हेर्दा त्यत्रा अरबौँ मान्छेले बोलेका करोडौँ वर्षपूर्वदेखि अनन्तकालसम्मका वाणी कसरी भण्डारन हुने होला भनेर विश्वास नलाग्न सक्छ। भौतिक जगत्मा पनि आजभन्दा ५०६० वर्षअघिसम्म हजारौँ स्क्वायरमिटर क्षेत्रफलमा अवस्थित पुस्तकालयका पुस्तकका पानाहरू सिर्फ एउटा एक स्क्वायरमिलिमिटरको कम्प्युटरचिप्सभित्र भण्डारन वा समाहित हुन्छ भनिएको भए मान्छेले विश्वास गर्दैनथे। तर आज विश्वास गर्नुपर्ने भएको छ। मानवनिर्मित जाबो एउटा कम्प्युटरचिप्समा त यति सामर्थ्य छ भने परब्रह्म परमात्मा, अखिल ब्रह्माण्डका नायक ब्रह्मद्वारा सिर्जित अनन्तकोटि ब्रह्माण्ड धारण गर्न सक्ने महाकाश (आकाशतत्व) ले सम्पूर्ण वाणीहरू धारण गर्न नसक्ला त ? निश्‍चय नै सक्छ अनि गरिरहेको छ र भविष्यमा पनि गरिरहनेछ। 
यसरी हामी मानवजातिलाई परब्रह्म परमात्माको अनुपम कृपाबाट प्राप्त वाणीको पूर्ण रूपले सदुपयोग गर्नुपर्दछ। वाणीको दुरुपयोग भनेको मिथ्यावचन, झूटो बयान, अपशब्दको प्रयोग, गालीगलौज, परनिन्दा, चाकडीचाप्लुसीजन्य अभिव्यक्ति, असत्यको पक्षपोषण गर्ने तर्क आदि पर्दछन्। अप्रिय र कटुवचनलाई त हिंसातुल्य शब्दवाण नै भनिएको छ। वाणीको दुरुपयोग किन पनि गर्नु हुँदैन भने यो नाश नहुने तत्व हो र ब्रह्मतुल्य मानिन्छ। रुद्रहृदयोपनिषद् भन्छ — ‘रुद्रो अर्थ उमा अक्षर तस्मै तस्मै नमोनमः।अर्थात् शब्द शक्तिस्वरूप हो अनि त्यसको अर्थचाहिँ शिवस्वरूप हुन्छ। श्रीमद्भगवद्गीतामा धेरै ठाउँमा अक्षरलाई ब्रह्म भनिएको छ। कतै  ॐकारलाई शब्दब्रह्म बताइएको छ भने एक ठाउँमा चाहिँ परम अक्षरब्रह्मभनिएको छ। परम अक्षरको अर्थ गर्दा केही विद्वान्हरूले प्रणव भनिएको होभन्ने अर्थ लगाएका छन्। तर परम अक्षरभनेर परा, पश्यन्ती र मध्यमामध्येको परावाणीलाई सङ्केत गरिएको हुन सक्छ। यस अर्थमा परावाणी पनि ब्रह्मतुल्य नै रहेछ भनेर बुझ्नुपर्ने हुन्छ। स्वयं ब्रह्म वा ब्रह्मतुल्य जे भए पनि त्यो हामी जीवभित्र रहनुचाहिँ ज्यादै नै महत्वपूर्ण र संवेदनशील पक्ष हो।
 
Leave a comment

Posted by on May 22, 2012 in Discourse

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: