RSS

सन्तोष

08 Nov
– हेमराज काफ्ले
भक्तपुरको सूर्यविनायक मैले यदाकदा मात्र टेक्ने गरेको ठाउँ हो। यहाँ मसँग परिचित मानिस भेटिने सम्भावना निकै कम हुन्छ। 

एकदिन दिउँसो सञ्‍जोगले यहाँबाट बस धुलिखेलको लागि पक्रिनु पर्‍यो।

मैले गाडी पर्खिरहेको बेला एकजना ज्यान परेको हकर छेउमा उभिएको थियो। उसले निधार छोपिेने गरी रातो रङ्‍गको क्याप लगाएको थियो। उसको हातमा एकबिटो पत्रिका र केही पैसा थियो। दुईटा भरिएका बसहरू त्यहाँ रोकिएका थिए। तर ऊ बसको नजिक गएर पत्रिका बेचिरहेको थिएन। त्यसै अल्मलिएर उभिइरहेको जस्तो लाग्थ्यो। ऊ घरी-घरी मतिर पनि पुलुक्‍क हेर्थ्यो। पत्रिका किन्ला भन्‍ने आशाले हेरेको होला भन्ठानेर म वास्ता गर्दिनथेँ। यो साँझ पर्ने बेलामा बिहानको पत्रिका कसले किन्दो हो, म मनमनै भन्दैथिएँ। 
धेरै परसम्म हेर्दा पनि आइरहेको गाडी नदेखेकोले समयको सदुपयोग गर्न म नजिकको पसलमा गलैँचाको दाम सोध्न गएँ। फर्कँदा ऊ त्यहीँ थियो। पर्खेर बसेको पो रहेछ। देख्‍ने बित्तिकै छेउमै आएर बोल्नथाल्यो, चिन्‍नु भो सर मलाई? प्रोफेसर भइसक्नुभो होला हगि?
मलाई यो अप्रत्यासित तर चिरपरिचित भावको सामिप्यले थोरै चकित बनायो। एउटा हकरलाई म प्रोफेसर भएको नभएको के मतलब?
छैन। तर मैले तपाईँलाई चिनिनँ त। हाम्रो भेट कहाँ भाको हो र?
मैले केयुमै पढ्‍या हुँ त। तपाईँले पढाउनु भाको हो नि, उसले विनम्रता प्रकट गर्‍यो।
 “तर कहिले नि ! मैले अनुहार ठम्याउनै सकिनँ, भाइ
आज हो र, २०५८ सालमा
आई. एस्सी?
हो
अरू के गरिन्छ त?
यस्तै उस्तै, उसले मलिन अनुहार लगाएर नाक खुम्च्यायो। 
अरूलाई भए पढाइ कहाँ पुग्यो भनी सोध्थेँ होला। यो युवकसँग यसभन्दा बढी सोधखोज गर्न मन लागेन। शायद उसले आई. एस्सी नै पास गर्न सकेको थिएन। मलाई लाग्यो ती टोपीमुनि लुकेका आँखामा कतै केही पीडा पनि पक्‍कै लुकेको छ। 
नाम मात्र सोधेँ। सन्तोष रहेछ। झट्ट सोचेँ नाम अनुसारको जीवनशैली भनेको यस्तै होला।
धुलिखेलको बस आइसकेकोले बिदा लिएँ। ऊ पनि बस स्टपबाट पश्‍चिमतिर लाग्यो। मलाई कताकता अनौठो लागिरह्‍यो।
केयुबाट टाढिएका अधिकांश विद्यार्थीहरू स्वाभावत: सधैँका लागि हामीबाट पनि टाढिन्छन्। अहिलेमात्र फेसबूकमा यदाकदा एकदुई जना सम्पर्कमा आउँछन्, अनि हराउँछन्। चिनजान फ्रेन्डलिष्‍टमा सीमित हुन्छ। सुनिन्छ, धेरैजसो राम्रा ठाउँमा गतिला काम गरेर बसेका छन्। मलाई लाग्छ यहाँ पढेकाहरू माथि नै पुग्छन्, अनि एकाध यताउता देखापर्नेहरू या त नियतिले ठगेका या जे छ त्यसैमा सन्तुष्टि लिएर बसेकाहरू हुन्।
केही वर्ष अघिसम्म म एकजना केटालाई बनेपामा तरकारी र फलफूल बेचिरहेको देख्थेँ। आ… सर, मलाई त यही काम मनपर्‍यो भन्थ्यो। उसलाई त्यस्तो काम किन मन परेको हो मैले कहिल्यै सोधिनँ। 
कहिलेकाहीँ धेरै माथि पुगिसकेकाहरूसँग पनि जम्काभेट हुन्छ काठमाडौँका सडकहरूमा। थोरैले मात्र चिनेझैँ गर्छन्। कसैकसैले बोलाइ पनि हाल्छन्। यस्तो भेट मलाई रमाइलो लाग्छ। देखेर नदेखे झैँ वा नचिने झैँ गर्नेहरूसँग पनि केही गुनासो छैन। मानिसहरूबीचको सम्बन्ध पानीमा हिँडेजस्तो हुनु नपर्ने हो। तर व्यवहारमा यस्तै हुँदो रहेछ। तर एउटा शिक्षकले पुराना सम्बन्ध छुट्दा खिन्‍न भइहाल्नुचाहिँ पर्दैन। नयाँ नयाँ भेट र सम्बन्धले उसको जीवनलाई सार्थक बनाइरहेकै हुन्छ। शिक्षक समुद्रको किनार र विद्यार्थी लगातार आइरहने पानीको छालजस्तै हुन् रे। छाल आउँछ जान्छ। किनारले आत्मसात गरिरहन्छ। कहिलेकाहीँ किनारमा रहेका फोहरहरू बढारिन्छन्। कहिले पानीसँग आएको फोहर किनारमा थुप्रिन्छ।
केही मानिसहरू केयुले सहरकेन्द्रित र विदेशोन्मुख युवाहरूको जमातमात्र उत्पादन गर्ने गरेकाले देशलाई समग्ररूपमा खासै फाइदा भएको छैन भन्‍ने टिप्पणी गर्छन्। कोहीचाहिँ यहाँ पढेपछि सरासर सफल र धनी बनिन्छ भन्‍ने विश्‍वासले भर्नाका लागि मरिहत्ते गर्छन्। यसरी यहाँ पढेपछि के हुन्छ के हुँदैन भनेर आग्रह राख्‍नु मानवजीवनको समग्रतालाई राम्रोसँग नबुझ्नु हो। कुनै स्कुल वा कलेजले जीवनको एक कालखण्डमा महत्व राख्छ, तर त्यो एकमात्र निर्णायक पक्ष हुन सक्दैन। मानिसहरूले यो कुरा बुझेकै हुनु पर्ने हो।
 
तर केयुमै पढेको मानिस दशवर्षपछि सडकमा पत्रिका बेचिरहेको पाइएला भन्‍ने कल्पना कसले गरेको थियो होला। मैले त गरेको थिइनँ। 
यसको अर्थ केयुमै पढेका कारणले कसैले पत्रिका बेच्नुपर्‍यो भन्‍न खोजको होइन। पत्रिका बेचेर जीविका चलाउनु नराम्रो हो भन्‍ने पनि होइन। पत्रिका बेच्ने मानिस अर्को अझ गतिलो काम गरेर बसेको पनि हुनसक्छ। पढेका मानिस सबै जागिरे र हाकिम बन्‍नै पर्छ र बनेकाले पत्रिका बेच्नै हुँदैन भन्‍ने झन् होइन। हाम्रो समाजमा कुनै कुनै शिक्षित मानिसहरूले निर्धारित गर्ने सफलताका मापकहरू गजबका छन्। यहाँ भने सानोतिनो काम गर्न इज्जत जाने, बिदेश गएर जेसुकै गर्न पछि नपर्ने अधिकांश शिक्षित वा अर्धशिक्षित नेपालीहरूको सफलताको मापक पैसा र त्यसले किन्‍न सक्ने भौतिक सुविधाहरू हुन्। यी जीविकोपार्जनका प्रमुख साधनहरू हुन्, तर यी मात्र सफल र सार्थक जीवनका निर्णायक आधारहरू भने होइनन्। 
प्रचलित दृष्‍टिकोणले सन्तोषको जीवनलाई हेर्दा ऊ एउटा हरूवा र पछौटे लाग्न सक्छ। मैले छोटो भेटमा उसमा पाएको आत्मविश्‍वास र जीवनप्रतिको इमान्दारी भने उदाहरणीय छ। उसको पेशा र अवस्था मेरो लागि अप्रत्यासित थियो भन्‍ने जानी जानी उसले आफूलाई चिनायो। त्यो उसको सामाजिक परिपक्वता थियो। युवावस्थाको प्रातकालमा केही समय कक्षाकोठामा देखिएको र अहिले विस्मरणमा गइसकेको एउटा पुरानो शिक्षकसँग लामो समयपछि भेट्दा देखाउँन पाएको हार्दिकता भने उसको लागि पनि अविस्मरणीय भएको हुनुपर्छ।
सन्तोषले आई. एस्सी. पास गर्‍यो गरेन, त्यसभन्दा माथि पढ्यो पढेन वा सडकमा पत्रिका बेच्न कसरी आइपुग्यो भन्‍ने एउटा खोजको विषय हुनसक्छ। हिजोआज पनि सूर्यविनायकको छेउछाउ पुग्नासाथ म सडकको दायाँ वायाँ राम्रोसँग चिहाउँछु। अनायास उसलाई खोज्छु तर देख्‍दिनँ। भेटेको केही वर्ष भइसक्दा पनि उसको अतीतप्रतिको मेरो खुल्दुली मेटिएको छैन।
सन्तोषले छुट्टिने बेलामा भनेको कुरा पछिसम्म मेरो कानमा गुञ्‍जिरहला, मेरो हालत देखेर अचम्म नमाने हुन्छ, सर। तपाईँका सबै चेलाचेलीले डाक्टर, इन्जिनियर, वैज्ञानिक वा अनुसन्धाता बन्‍ने अवसर पाएका छैनन्। तपाईँले अरू पनि सन्तोषहरू भेट्नुहुनेछ
सन्तोषको यो भनाइमा वास्तविकता छ जस्तो लाग्छ। देश सन्तोषले आई. एस्सी. पढ्दाको भन्दा फरक भइसक्यो, अनि फरक भैसकेको छ केयु पनि। अहिले त यस्ता अरू पनि स‍न्तोषहरू सडकभरि आइसके होलान, स्वदेशमा नभए विदेशमा। तर कोही कतै भेटिए भने पनि भक्तपुरे सन्तोषलाई भेट्दाजस्तो विस्मयानुभव चाहिँ मलाई हुनेछैन।
Advertisements
 
4 Comments

Posted by on November 8, 2011 in Memoirs

 

4 responses to “सन्तोष

  1. Anonymous

    November 9, 2011 at 12:49 am

    I am speechless sir !! kranti

     
  2. Anonymous

    November 10, 2011 at 9:41 am

    Great… reality with little amendment…

     
  3. rajankathet

    April 9, 2012 at 12:17 am

    umm….. sochna badhya banayo yo lekh le……

     
  4. anuja khadka

    April 10, 2012 at 6:39 am

    tara ma ta K.U. dhani banna haina sir, sikchya lina aayeko.. safal huney chahana kasko hudaina ra.. hajur kaa students haru safal hunasakenan, tesmaa KU ko khot ma dekhdina, tesma student afai ko pani kamjori huna sakcha.. 🙂 hajur ko lekh ramro cha sir!

     

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: